Friday, July 11, 2008

केही सत्य अनि केही कल्पनामा आधारित कहिले नलेखिएको उपन्यास - त्यो आमालाई समर्पित जस्ले सौताको छोरालाई सौताको छोरा भनिनन- "सौतेनी आमा"( अंक -१)

`के भयो रागी तिमीलाई ?

स्कूलबाट आउने बित्तिकै कोहीसँग केही नबोली सरासर आमा को छेउमा आएर घोप्टिएर बसेकी थिए म त्यो दिन
कान्छी दिदी (घरमा काम सघाउन् आउने दिदी ) पदमा दिदी (छिमेकी दिदी जो आफ्नो घर भन्दा हाम्रो घरमा आमा सँग बसेर नयाँ नयाँ पकवान सिकेर दिन बिताउथिन ) दुबै नै आत्तिएर मलाई समाउन आइपुगेका थिए। आमा चाही तेत्तिकै टोलाएर बस्नु भएको थियो । म साह्रै चन्चले थिए। स्कुलबाट आउने बित्तिक किताबको झोला एकातिर फ्याकेर भोक लाग्यो दिदी भनेर कान्छी दिदी को कानखानाथाली हाल्थे। तर त्यो दिन मलाई खानको सुद्धी थिएन ,स्कूलदेखी नै रुदै आएकी थिए म।एउटी छोरी भएकिले आमा बाबाको लाडली थिए । स्कुल बाट म आइ नपुग्दासम्म मेरो आमाको आँखा ढोका मै अडकी रहेको हुन्थियो ।दाइ किसन र भाइ माधव केटा भएकोले केही चिन्ता थिएन तिन्लाई तर म छोरी भएको ले जमाना साह्रै खराब छ ,छोरीलाई पाइला पाइलामा खतरा छ भन्थिन तिनी । तर आज तिन्को तेही प्यारी छोरी स्कूलबाटै रुदै आएकीमा पनि वास्ता थिएन तिन्लाई। मलाई भने अच्चम्ममाथी अच्चम्म भै रहेको थियो।केटाकेटी बुद्धी मेरो म बिचरीलाई के थाहा त्यो दिन मेरो आमामाथि कत्रो बज्र परेको थियो। मलाई कसैले भन्दा पनि भनेनन ।धेरै दिन पछी थाहा भयो मलाई कि त्यो दिन मेरी आमा किन मुर्ती बनेकी थिइन ।

के भयो भनेको किन यसरी रुइ रहेकी ?आमालाई सन्चो छैन आउ भित्र जौ ।

कान्छी दिदी र पदमा दिदी दुबै मिलेर मलाई उचालेर भित्र लगे।
त्यतिबेला हाम्रो घर पुरानो ढांचाको थियो । तल चुल्हो माथि भरेङ चडने बित्तीकै बरण्डा र बैठक अनी भित्र अर्को सानो बैठक २वटा सुत्ने कोठा अनि बुइगलमा सानो पूजा घर । भित्रको कोठामा मेरो बुवा पनि अतिनै गम्भिर मुद्रामा बसी रहनु भएको थियो।
`छोड् छोड् मलाई छोड्`

भनेर चिच्चाइ रहेकी म बुवालाई एतिबेला घरमै देख्नेर छक्क परेर चुप लागे।
`के भयो मेरो नानुलाई`?

मेरो नाम रागिनी भये पनि अरु सबै जना मायाले मलाई रागी भनेर बोलाउ थिए भने मेरो बुवा भने मलाई मायाले `नानु` भनेर बोलाउनु हुन्थ्यो । अरु बेला हो भने मेरो आँखामा एक थोपा आसुँ मात्र देखे पनि घरै उचाल्ने मेरो बुवालाई रुदा रुदा गोलभेडा जस्तो भएको मेरो आँखाले पनि तेत्ती असर गर्न सकेन त्यो दिन।
`यता आउ त नानु`

मेरो हात समाएर बुवाले आफ्नो छेउ तान्नु भयो मलाई ।
`स्कूलबाट भोकायेर आएको मान्छेलाई खाजा दिनु पर्दैन,खै खाजा कान्छी दि जौ खाजा लिएर आउ तुरुन्त`

स्वरमा आद्रता भये पनि घरको स्वामिको अधिकारले अह्राउनु भयो बुवाले कान्छी दि लाई ।
तपाईंलाई पनि केही ल्याउ है बिहान देखि ....शायद केही खानु भएको छैन भन्न खोजेकी थिइन कान्छी दि ले तर चोर औलाले ओठलाई ढाकेर चुप लाग भनेर ईशारा गर्नु भयो बुवाले।
`एस्तो चालले पनि हुन्छ`
भुतभुताउदै कान्छी दि बाहिर निस्कीइन ।
पदमा दिदी भने त्यही उभीइरहनु भएको थियो।
`बस न पदमा किन उभी रहेको` नजीकैको कुर्सि तिर ईशारा गरेर पदमा दिदीलाइ बस्ने इसारा गरी सके पछी बुवा ले फेरी सोध्नु भयो मलाई ।
`के भयो नानु? के स्कुलमा कसैसँग झगडा भयो?
`
होइन ` टाउको हल्लाएर मैले अस्विकृति जनाये ।
`के भयो त आफ्नो बुवालाई भन्दैनौ ?
मेरो केश मुसार्दै रुला रुला जस्तो गरेर सोध्नु भयो बुवाले ।तर बुवा मेरोलागी रुनु खोज्नु भएको चाँही थिएन ।

`बुवा किसन दाई मेरो आफ्नो दाई होइन रे हो`?उल्टै प्रश्न गरे मैले बुवा सँग ।
`
वाहियात कस्ले भन्यो तिमीलाई एस्तो कुरा `

मेरो कुरा सुनेर अघी देखी मुर्ती बनेर बाहिर बसिरहनुभएको आमा चिच्च्याउदै भित्र पस्नु भयो।

`कमला मिसले भन्नु भएको किसन दाई मेरो आफ्नो दाई नभएर सौतेनी दाई हो रे हो आमा ?

आमाको बन्दै गएको उग्र रुपतिर ध्यानै नदिइ आफु भरी भरियर आएको औडा रुदै पोखे मैले।
म दाईलाई औधी माया गर्थे ।

निच कुलङ्कार चाहिने नचाहिने कुरा सुन्न पठाएको तंलाई हामीले स्कुल मा कि पढन पठाएको ?"

कहिले तंसम्म उच्चारण नगरने ,कहिले गाली नगरने ,आमाको गाली मात्र होइन बेस्सरी चुटाइ पनि खान पर्‍यो त्यो दिन
मैले आफ्नो प्रश्नको उत्तरमा -क्रमश्;-

No comments: